अनलाईन न्युजपाटी,भद्रपुर,समाचारदाता, पौष २४ गते।
सडकबाट प्रहरीले उद्धार गरी ६ महिना अगाडि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारार्थ भर्ना गरिएकी महिलाको आफन्त फेला पर्न सकिरहेको छैन । बेवारिसे रूपमा रहेकी महिलाको आफन्त खोजिदिन वा संरक्षण गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ ।अस्पतालमा उपचारार्थ भर्ना गरिएकी महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अनुरोध गरेको हो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने ती महिला आफू दार्जिलिङ् बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसले गर्दा बेवारिसे भएर, कसरी नेपाल आइपुगिन् भन्ने थाहा नपाउने ती महिलाले छिरिङ् नाम गरेको छोरो रहेको जानकारी दिने गरेकी छन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् ।६० वर्ष माथिको उमेर समूह जस्तो देखिने ती महिलालाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । यस बीचमा अस्पताल प्रशासनले आफन्तको खोजीका लागि विभिन्न प्रयास गरे पनि सफलता नमिलेको जनाएको छ ।