धनुषामा अवैध खोला उत्खननको विरोध गर्ने युवकको खोलामै टिपरले किचेर हत्या

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष २५ गते।

अवैध खोला उत्खननको विरोध गर्ने युवकको धनुषामा खोलामै टिपरले किचेर हत्या गरेको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुर बस्ने रामजिवन महतोको २४ वर्षीय छोरा ओमप्रकाश भन्ने दिलीपकुमार महतोको शुक्रबार विहानै औरही खोलामा टिपरले किचेर हत्या भएको हो ।विहान ४ बजेतिर छिमेक साथी रोशन यादवसँग मोर्निङवाक गएको बेला घर नजिकैको पूर्व पट्टीको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपर टाउको मै किचेर दीलीपको हत्या भएको स्थानीयले बताएका छन् । उनी भारतमा ईन्जिनियरिंग पढ्दै आएका थिए ।घटना लगतै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पतल जनकपुर पठाएको छ भने टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । घटना पश्चात् टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए ।गाउँलाई जोखिममा पार्ने गरी गाउको पूर्वपट्टीको औरही र पश्चिम पट्टीको बसही खोलामा भइरहेको अवैद्य उत्खननको दिलीपले गाउँलेसंगै विरोध गर्दै आएको स्थानीयको भनाई छ । विरोधमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले क्रसर सञ्चालकले योजनाबद्ध रुमानै दिलीपको हत्या गरेको स्थानीय उमेश कुशवाहाले अनलाईन न्युजपाटीलाई बताए । घटनाभएको नजिकै मिथिला नगरपालिका ५ श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयहरुले टायरबालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कार्वाहीको माग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *