अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,माघ २० गते।
बलात्कारको आरोपमा एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। कुवेत जाने क्रममा रहेका धादिङ गजुरी ८ बस्नेतगाउँका हरिकृष्ण भनिने हेमनसिंह बस्नेत पक्राउ परेका हुन्। हेबी इक्वीपमेन्ट चालक रहेका बस्नेतमाथि बलात्कारको आरोप छ। गत जेठ १४ गते आफ्नै गाउँमा बाटो खन्ने काममा रहेका हेमनले गजुरी हलेदेखोलास्थित स्थानीय १६ वर्षीय युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। हलेदेखोलास्थित युवतीको घर गई जेठ १४ गते राति ३ बजे हेमनले ढोका फोडेर कोठाभित्र प्रवेश गरी युवतीमाथि बलात्कार गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।बोल्न कराउन नसक्ने गरी युवतीको मुख थुनेर हेमनले बलात्कार गरेको प्रहरीको भनाइ छ। सो समयदेखिनै फरार रही भारतका विभिन्न क्षेत्रमा लुकिछिपी बस्दै आएका उनी आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारको लागि कुवेत जाने क्रममा थिए।विमानस्थलबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। आवश्यक कानुनी कारवाहीको लागि उनलाई आजै जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।