दुर्गन्धित बनाएको चिनी उद्योग र डिष्ट्रिलरीमा हरिवनका स्थानीय बासिन्दाले गरे तालाबन्दी

अनलाईन न्युजपाटी,हरिवन समाचारदाता,माघ २३ गते।

स्थानीय बासिन्दाले बुधबार ईन्दशंकर चिनी उद्योगको मूलगेटमा दुईघण्टा तालाबन्दी सहित धर्ना दिएका छन् । वर्षौंदेखि माग राखेपनि प्रदुषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका आक्रोशित स्थानीय बासिन्दाले ईन्दुशंकरमा तालाबन्दी एवं धर्ना दिएका हुन् ।
प्रदुषण नियन्त्रणका लागि दबाव दिने उद्धेश्यले स्थानीय बासिन्दाद्धारा गत शनिबार गठित संघर्ष समितिको आव्हानमा बुधबार बिहान ११ बजेदेखि दुईघण्टा उद्योगको मूलगेट सहित तीनवटा गेटमा तालाबन्दी एवं धर्नाको कार्यक्रम भएको हो । संघर्ष समितिको तालाबन्दी कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडाध्यक्षहरु यज्ञविनोद ढुंगेल, शेष मेहबुब रेजा लगायत समेत सहभागि थिए ।
हनुमानचोक, बाँसाटोल, पाख्रीन टोल लगायत उद्योग वरिपरीका बासिन्दा धुलो धुवाँ र दुर्गन्धबाट वर्षौंदेखि पीडित बनिरहेको संघर्ष समितिका संयोजक भट्टराईले गुनासो गरे । उद्योग व्यवस्थापनलाई वर्षौंदेखि पटक–पटक ज्ञापन बुझाउने अनि वार्ता मार्फत सहमति गर्ने बाहेक केही उपलब्धी हाँसिल नभएको र यसपटक भने उधारो सहमति भन्दा पनि ठोस उपलब्धी हाँसिल नभएसम्म संघर्ष जारी रहने भट्टराईको भनाई थियो ।
स्थानीय बासिन्दाका अनुसार चिनी उद्योगको चिम्नीबाट उड्ने कालो धुलोले धोएर सुकाएको सेतो लुगा कालाम्मे हुने गरेको छ । त्यस्तै घरभरी कालो धुलो पस्ने गरेकाले घरभित्रै बसेर खाना खाँदा समेत भागभरी कालो धुलो छपक्कै हुने गरेको संघर्ष समितिका प्रचार प्रसार संयोजक विनय न्यौपानेले गुनासो गरे ।
धुलो, धुवाँको प्रदुषण अनि चिनी उद्योग अन्तर्गतकै अमरावती डिष्ट्रिलरीबाट बाहिरिने फोहोर पानीको दुर्गन्धले स्थानीयमा स्वाशप्रस्वाश लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको समितिका संयोजक भट्टराईको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *