अनलाईन न्युजपाटी,काभ्रे,समाचारदादाता,फागुन २१ गते।
काभ्रे जिल्लाको कोसीपारिमा यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउराली गाउँपालिका–९ गोठपानीमा दुर्घटना भएको हो ।रामेछापबाट बनेपातर्फ आउने क्रममा चौरीदेउराली गाउँपालिकाको गोठपानीमा अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी कुमारविक्रम थापाले जानकारी दिएका छन् । यात्रुबाहक बस ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १५ मिटर तल खसेको थापाले बताए । दुर्घटनापश्चात् इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षकको कमाण्डमा उद्धारका लागि गएको र घाइतेहरूलाई धुलिखेलतर्फ पठाइएको छ । घाइतेहरुमध्ये केहीलाई चौरी देउराली गाउँपालिकाको गाडीमा र केहीलाई बसमा धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।