अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदादाता,फागुन ३० गते।
बिहेमा आएका तीन जना भारतीय नागरिक मोरङबाट हतियारसहित पक्राउ परेका छन्। भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, राकेशकुमार साह र १८ वर्षीय आनन्दकुमार मण्डल कटुवा पेस्तोल र गोलीसहित बिहीबार राति पक्राउ परेका हुन्। मोरङको सुनवर्षी नगरपालिका–८ बस्ने श्यामसुन्दर मण्डलका छोरा बब्लुको बिहेमा आएका तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेतृत्वको टोलीले राति ९ बजे पक्राउ गरेको हो। दाहालकाअनुसार पक्राउ परेका तीनै जना श्यामसुन्दरका आफन्त रहेको खुलेको छ। सुनवर्षी–८ हर्चनगढीस्थित महादेव मण्डलको होटलमा मादक पदार्थ सेवन गरिरहेका बेला हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरिएको उनको भनाइ छ। ‘होटलमा मदिरा सेवन गरिरहेका भारतीयले शंकास्पद गतिविधि गरिरहेको सूचना आयो,’ प्रहरी निरीक्षक दाहालले भने, ‘प्रहरी पुगेर खानतलासी गर्ने क्रममा मदिरामा लट्ठ रहेका उनीहरुसँग एउटा कटुवा पेस्तोल र गोली फेला पर्यो।’पक्राउ परेकाहरुको साथमा रहेको अनटेस्ट पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।