अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदादाता,चैत ११ गते।
सरकारले अन्ततः देशै लकडाउन गरेको छ। मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको हो। यससँगै अब एक साताका लागि सर्वसाधारण घरबाट बाहिर निस्किन पाउनेछैनन्।सरकारले यो निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकबाटै गरेको र त्यसको सार्वजनिकीकरण मात्र सोमबार गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए। कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिइएको मन्त्री डा. खतिवडाले बताए।‘यो एकप्रकारले सरकारको आदेश हो। आइतबारकै मन्त्रिपरिषद् बैठकले गरेको निर्णय थियो, आज मात्र हामीले सार्वजनिक गरेका हौं’, उनले भने, ‘कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पनि अब यसलाई हामी सबैले लागू गर्नुपर्छ।’ पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार सरकारको यो निर्णयपछि अब सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँड्न पाउनेछन्। अन्यका लागि घरभित्रै बस्नुपर्ने हुन्छ। फ्रान्सबाट दोहा कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि सरकार नेपाललाई लकडाउन गर्ने निर्णयमा पुगेको हो। लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द हुनेछन् भने आन्तरिक हवाई उडान बन्द हुनेछन्। लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले यसअघि नै बन्दको घोषणा गरेको थियो। सोमबार मात्रै नेपालसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका उत्तरी चीनतर्फका २ वटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिण भारततिरका ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी कुल १ सय ६४ वटै नाका पनि सिल गरेको थियो।