अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,चैत २४ गते,
कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। अझै आठ दिनसम्म लकडाउन थप गर्ने निर्णय भएको छ। दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो।
एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागु गर्ने निर्णय गरेको थियो। यसअघि सरकारले सात/सात दिनको गरी दुई पटक लकडाउनसम्बन्धी निर्णय गरेको थियो। पछिल्लो निर्णय अनुसार मङ्गलवार राति १२ बजे लकडाउनको अवधि सकिँदैछ।
नेपालमा हालसम्म नौ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा एकजना निको भई घर फर्किसकेका छन् भने बाँकी आठजना उपचाररत छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल काठमाण्डू उपत्यकासहित देशका १० स्थानमा परीक्षण भइरहेको छ।