अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,चैत २४ गते
भारतसंग सीमा जोडिएका कैलालीका दुई स्थानमा सशस्त्र प्रहरीले चेकप्वाईन्ट स्थापना गरेको छ। सीमा क्षेत्रमा लुकीछिपी अबैध रुपमा नेपाल प्रबेश गर्ने क्रम नरोकिएपछि थप स्थानमामा चेकप्वाईन्ट राखिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले सबै नाका सील गरिएको अवस्थामा पनि आवागमन हुन सक्ने भएकाले निगरानी बढाउन चेकप्वाईन्ट थपिएको बताए।
नयाँ थप गरिएका सात र पुराना पाँच सहित १२ वटा युनिट मार्फत सशस्त्र प्रहरीले भारतसंग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्ने छ । २४ सै घण्टा सीमामा तैनाथ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने आवातजावतमा पूर्ण रुपमा नियन्त्रण गर्ने बताएको छ। सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटान, १० जुगेडा, कैलारी गाँउपालिका खोनपुर, भजनी नगरपालिका वडा नम्बर ७ हिक्मतपुर, ६ कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका वडा नम्बर ९ श्रीलंकामा नयाँ चेक प्वाईन्टहरु स्थापना गरेको हो ।