अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख ०४ गते।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन WHO लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले WHO लाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले WHO लाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका ठिक नभएको पनि बताएका थिए । अब यसबारे डब्ल्यूएचओको पनि प्रतिक्रिया आएको छ । WHO ले ट्रम्पको निर्णयप्रति दु:ख जताएको छ । WHO का प्रमुख डा. टे ड्रोस एडनम गिब्रिएससले भने, “अमेरिका लामो समयदेखि डब्ल्यूएचओको साथी रहँदै आएको छ र उसले आर्थिक रुपमा मद्दत पनि गरिरहेको छ ।”
उनले थपे, “हामी अमेरिकी राष्ट्रपतिद्धारा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको रकम रोक्न दिइएको आदेशप्रति दु:ख प्रकट गर्दछौं ।”
अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे WHO ले समीक्षा गरिरहेको छ । हामी आफ्ना पार्टनरसँग आर्थिक संकटको विषयमा छलफल गर्नेछौं ताकि कुनै प्रकारको समस्या नआओस् । उनले भने, “कुनै पनि हालतमा काम नरोकियोस् भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं ।”