कोभिड-१९ को अन्तिम परीक्षण गर्न नमुना अब काठमाण्डू ल्याउनुनपर्ने

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, बैशाख ०८ गते।

कोरोनाभाइरस सङ्क्रमणको सम्पूर्ण परीक्षण र उपचार अब काठमाडौँ बाहिर सम्भव भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।

आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब ‘क्रस भेरिफिकेशन’को काम काठमाडौँ बाहिर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा समेत गरिने बताए।

यसअघि नेपालका १४ ठाउँमा पीसीआर विधिबाट कोभिड-१९ परीक्षण गर्ने गरिएको भए पनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै सङ्क्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाडौँ पठाइन्थ्यो। अब १५ वटा प्रयोगशालाबाट नमुनाको जाँच हुन थालेको छ।अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ३१ रहेकोमा तीमध्ये चार जना भाइरसमुक्त भएको देवकोटाले बताए।

भाइरसमुक्त भएको पुष्टि भएपछि काठमाडौँ र बागलुङमा उपचार गराइरहेका दुई जनाले शनिवार र धनगढी भर्ना गरिएका एक जनाले आइतवार घर फर्किन पाएका हुन्। भाइरसको लक्षण र उनीहरूले हालै गरेको यात्रा विवरणका आधारमा सम्भावित सङ्क्रमित हुनसक्ने भन्दै अहिलेसम्म ‘रेड जोन’मा राखिएकाहरू देशभरि २६० पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *