अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, बैशाख १२ गते।
प्रादेशिक अस्पताल जनकपुरधाममा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।
सर्लाही जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका–५, का ती बालकलाई वैशाख ५ गते आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै उनलाई पीसीआर विधिबाट स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइयो । त्यहाँ बालकमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइयो ।
लक डाउनको बेला भारतको दिल्लीबाट आएका ती बालकको जनकपुरबाट पनि थप परीक्षण गर्ने भन्दै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु पठाइएको थियो । टेकुमा गरिएको परीक्षणमा बालकमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले प्रादेशिक अस्पतालले कोरोना नरहेको पुष्टि गर्दै रिपोर्ट निकालेको बालकमा काठमाडौंमा पुनः स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अचम्मित भएको प्रतिक्रिया दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जिसीले बालक घर फर्किएपछि कतै हिँड्डुल गरेको/नगरेको र धनकौललाई शिल गर्नेबारे तयारी गर्न आफूहरु त्यसतर्फ गइरहेको बताउनुभएको छ ।
संक्रमित बालक भारतको दिल्लीस्थित एक ब्याग फ्याट्रीमा काम गर्थे । उनी लक डाउनकै बेला रौतहटको गौर हुँदै घर आएको सूचना पाए लगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर राखेका थिए ।