अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख २६ गते
ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९,००० नाघिसकेको छ। कोरोनाभाइरसबाट हालसम्म त्यहाँ एक लाख ३५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ।
अर्थमन्त्री पाउलो गेदेजले ब्राजिलका नागरिकहरूले केही महिनाभित्र खाद्यान्नको अभाव र सामाजिक अशान्तिको सामना गर्नुपर्ने बताए। विज्ञहरूले ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्। तर अझै पनि राष्ट्रपति बोल्सोनारुले व्यापार, व्यवसाय, विद्यालय तथा सार्वजनिक स्थलहरू बन्द राख्ने राज्यहरूको निर्णयविरुद्ध आफूलाई प्रस्तुत गर्दै आएका छन्।
जोखिममा रहेका समूहहरूलाई मात्रै क्वारन्टीनमा राख्नुपर्ने र बाँकी सबैलाई काममा फर्कन दिनुपर्नेमा पक्षमा उनी छन्। सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या तीव्र गतिमा बढिरहँदा र न्यून सङ्ख्यामा परीक्षण भइरहेकोले स्थिति भयावह हुन सक्ने चिन्ताबीच राष्ट्रपतिले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप लागिरहेको छ।