उकालो लाग्दै सुनको मूल्य, बिहीबार ८०० रुपैयाँले वृद्धि

अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता, भदौ १२ गते।

सुनको मूल्य मंगलबार केही घटेर बुधबार स्थिर रहेपनि बिहीबार फेरि बढेको छ। बिहीबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर ७३ हजार ४०० रुपैयाँमा र तेजावी सुन ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

सुनको भाउ ९०० रुपैयाँले घटेर मंगलबार र बुधबार ७२ हजार ६००  रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य हालसम्मकै महंगो ७३ हजार ५०० कारोबार भएको थियो।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर ८९५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार पनि चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। त्यस्तै अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो।

बिहीबार अमेरिकी डलर पनि ४६ पैसाले बढेर ११५ रुपैयाँ १४ पैसा पुगेको छ ।

यस्तै, चीन अमेरिका ब्यापार युद्ध, अमेरिकी केन्द्रीय बैंकले निक्षेपको ब्याजदर घटाउनु, जर्मनीको अर्थतन्त्रमा आएको सुस्तता, कमजोर शेयर बजार, उत्तर कोरिया र इरानसँगको कटु सम्बन्ध हुनु जस्ता कारणले सुनको मूल्य वृद्धि भएको विज्ञहरु बताउँछन् ।

अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेकोले लगानीकर्ताको डलरप्रतिको आकर्षण घटी सुनतर्फ बढ्ने गरेको पाइन्छ। अर्कोतर्फ, विश्वमै सुन आयातको सबैभन्दा ठूलो देश चीनले आफ्नो ढुकुटीमा डलरको तुलनामा सुन जम्मा गर्नुलाई पनि सुनको भाउ बढाउने कारण रुपमा विश्लेषण गरिएको छ।

गत साउनको सुरुवात देखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोबार भएको थियो । साउन यता सुनको मूल्य ८ हजार ९०० रुपैयाँले बढिसकेको छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०र२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ। अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ।

गत वर्षहरुमा महिलाहरुको महान चार्ड तिजको अवसरमा दैनिक ४० केजी सम्म सुनको खपत हुने गरेकोमा अहिले सुनको मूल्य बढेकाले १० केजी पनि बिक्री हुन मुस्किल पर्न थालेको छ। सुनको मूल्य बढ्दै जाँदा सुन खरीद गर्नेहरुको संख्या भने शुन्य जस्तै भएको एक व्यवसायीले  अनलाईन न्युजपाटी बताए ।सुन चाँदीको बिक्री घटेपछि व्यवसाय धान्नै गाह्रो परेको व्यवसायीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *