विद्युतीय साझा बस कात्तिक अगाडि आउने सम्भावना न्यून

काठमाडौँ समाचारदाता।

चिनिया कम्पनि एबिके मार्फत खरिद गरि सरकारले कात्तिकदेखि काठमाडौंका सडकमा साझा यातायात मार्फत विद्युतीय बस संचालन गर्ने दाबी गरे पनि साझाले भने त्यति चाँडै विद्युतीय बस सञ्चालन गर्न नसकिने स्पष्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चिठी पठाउँदै साझा यातायातले कात्तिकको पहिलो साताभित्र ३०० विद्युतीय बस खरीद गर्न नसकिने बताएको हो । 

सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले मन्त्रिपरिषद्को निर्णय मार्फत असारको अन्तिम साता साझालाई ३०० विद्युतीय बस खरीद गर्न रू. ३ अर्ब दिने निर्णय गरेको थियो । उक्त रकम सरकारले साझालाई भुक्तानी गरिसकेको छ ।

‘जीटुजी प्रक्रिया मार्फत बस खरीद गर्ने निर्णय भएको भए कात्तिकको डेडलाइनमा खरीद सम्भव हुनसक्थ्यो,’ साझाका कार्यकारी निर्देशक भूषण तुलाधरले भने, ‘तर, टेन्डरमार्फत बस खरीद गर्ने निर्णय भएकाले सो अवधिभित्र बस खरीद गर्न सम्भव छैन ।’ 

खरीद समिति बनाएर सो समितिले बनाएको मापदण्ड अनुसार बस खरीद गरिने उनले बताए । हाल खरीद समिति बनिसकेको छैन । समितिले बनाएको मापदण्डका आधारमा कम्पनीले टेन्डर निष्कासन गर्ने तुलाधरले जानकारी दिए । ‘४५ दिनको सूचनापश्चात् मापदण्डका आधारमा कम्पनी छनोट गरिन्छ,’ उनले भने, ‘त्यसपछि कम्पनीसँग भएको सहमति अनुसार बस कहिले आउँछन् भन्न सकिन्छ ।’

साझाले विद्युतीय बस सञ्चालनका लागि पूर्वतयारी भने गरिरहेको छ । भर्खरै मात्र भारतका विभिन्न स्थानमा पुगी त्यहाँको बस सञ्चालन पद्धति अध्ययन गरिएको र सञ्चालनका चुनौती र कठिनाइका विषयमा विज्ञसँग छलफल गरिरहेको कार्यकारी निर्देशक तुलाधरले जानकारी दिए । तुलाधरसहितको टोलीले यही साउन ६ गतेदेखि ११ गतेसम्म भारतको कोलकाता, पुने र मुम्बई पुगी बस खरीद र सञ्चालनको विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरेको थियो ।

सरकारको ९९ प्रतिशत शेयर रहेको साझा यातायातलाई विद्युतीय वस खरीद गर्न यसअघि नै प्रदेश ३ सरकार, काठमाडौं तथा ललितपुर महानगरपालिकाले साढे ४२ करोड रुपैयाँ प्रदान गरेका थिए । साझाका अनुसार प्रदेश ३ सरकारले रू. ३० करोड, काठमाडौँ महानगरपालिकाले रू. १० करोड र ललितपुर महानगरपालिकाले साढे २ करोड प्रदान गरेका थिए ।

सरकारले सन् २०२० भित्र मुलुकमा विद्युतीय सवारी साधनको हिस्सा २० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । त्यसै अनुरूप निजीक्षेत्रलाई पनि विद्युतीय सवारीसाधन खरीद र सञ्चालनमा प्रोत्साहन गर्न यस्ता सवारीको भन्सार शुल्क १० प्रतिशत मात्र राखिएको छ ।  

साझाले विद्युतीय सवारीसाधन सञ्चालनको तयारी गर्दैगर्दा निजीक्षेत्र सुन्दर यातायातले सार्वजनिक यातायातमा यस्ता बस सञ्चालनमा ल्याउने बताएको छ । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले भदौको पहिलो साताभित्र सातओटा विद्युतीय वस सञ्चालनमा ल्याउने बताएका छन् । उनका अनुसार तीमध्ये दुई बस नेपाल भित्रिसकेका छन् भने बाँकी पाँच साउनभित्र आइपुग्नेछन् । थापाले दशैं अगाडिसम्म कुल २५ विद्युतीय बस ल्याइसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *