“म बल्ल खुशी हुने स्थान मा आईपुगे” कुलमान घिसीङ

काठमाडौं समाचारदाता ।

कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक-पटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण । र, समयमै सम्पन्न गर्ने उद्घोष पनि । तर आयोजनाले गति लिन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन।  नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ ।

समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो , सबै खालका विवादसमेत समाधान भयो । प्राधिकरणले पनि नयाँ नेतृत्व पायो । सरकारले आयोजनामा कुनै पनि खालको अवरोध हुन नदिने दृढता व्यक्त गर्यो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गराउन हर प्रकारको सहयोग उपलब्ध गरायो । जसका कारण लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । 

 त्यसकाविपरीत पछिल्ला दिनमा काम गर्ने संस्कार पनि स्थापित हुन थालेको छ । राम्रो काम गर्ने मान्छे क्रमशः पुरस्कृत हुनसमेत थालेका छन् । एकाध मान्छेले चाहँदा धेरै ठूलो फरक पर्दछ । कुनै समय देशबाट विद्युत्भार कटौतीको अन्त्य हुन्छ भन्दा धेरैले पत्याएका थिएनन् । धेरैले नपत्याएको त्यो काम सम्भव भयो । 
आयोजनाको पहिलो युनिट भने गत जेठ २ गतेदेखि नै सञ्चालनमा आएको हो । दोस्रो युनिट पनि चलेपछि आयोजनाबाट कूल ६० मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहबाट २२० केभी क्षमताको प्रसारण लाइनमार्फत काठमाडौँको मातातीर्थमा रहेको सबस्टेशनमा जोडिएको छ ।

आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने अभियानको नेतृत्व गर्न आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आयोजनास्थल नै पुगेका थिए । प्राधिकरणका कर्मचारी, निर्माण व्यवसायी र परामर्शदातासँग खुशी साटे । 

रुग्ण आयोजनालाई लयमा ल्याउन सानो प्रयासले मात्रै सफल हुने अवस्था थिएन । थोरै मान्छेले मात्रै अप्ठ्यारो कामलाई सफल बनाउँछन् र आफ्नो नाम राख्छन् भन्ने तथ्य पुनःस्थापित भएको छ । नुवाकोटको किस्पाङ–५ सिम्लेमा पुग्नुभएका घिसिङले अन्त्यमा भन्नुभयो, “आयोजना सफल बनाउन प्राधिकरणका कर्मचारी जस्तै सञ्चारकर्मीको पनि उत्तिकै हात छ, उनीहरुलाई पनि मेरो बधाई छ है ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *