जनकपुर समाचारदाता साउन १९
जनकपुरधाम प्राचीन मिथिलाको राजधानीको साथै मठ मन्दिरको शहरको रुपमा परिचित छ । जनकपुरधाममा कुनै बेला मन्दिर र कुट्टीहरु रहेको ठाउँमा अहिले ठुलठुला भवनहरु ठडयाइएको छ । भुमाफियाहरुको चलखेल र मन्दिर संरक्षककै मिलोमतोमा कुट्टीहरु मासिंदै गएका छन् । कुट्टीले दानमा पाएका जग्गा व्यक्तिको नाममा नामसारी हुन थाल्यो र विस्तारै विस्तारै भगवानका मुर्तिहरु समेत बेचिए ।
५२ कुट्टी ७२ कुण्डको नामले विश्वप्रसिद्ध जनकपुरधाममा करिव २५ वर्षको अन्तरालमा लगभग ४० वटा मन्दिर र कुट्टीहरुको अस्तित्व नै समाप्त भएको छ । मन्दिर र कुट्टी त हराए हराए भगवानको मुर्ति समेत गायब भए । अहिले बांकी छन् त मात्र केही मन्दिरको भग्नावशेष ।
वि.सं.२०२२ सालमा गुठि संस्थान ऐन आयो,नेपाली नागरिकता नभएका साधुसन्तले मठमन्दिरको जग्गा चलाउन नपाउने विषयमा विभिन्न नियम समेत बन्यो । कतिपय साधुसन्तले नेपाली नागरिकता भएका चेलालाई मठमन्दिरको स्वामित्व सुम्पे । तर संरक्षणको जिम्मेवारी लिएका पुजारी र महन्थले मन्दिरका जग्गा भुमाफियासंग मिलेर बिक्री गरेपछि ती मन्दिरहरु लोप भएका छन् । कतिपय मन्दिर र जग्गा सरकारी स्वामित्वमा राखेर प्रयोगमा ल्याइएको देखिएको छ । तर अधिकांश मन्दिर निजि रुपमै अतिक्रमणको चपेटामा परेका छन् । तर जनकपुरधामका मन्दिरहरुको महन्थ पदमा धर्मप्रतिको आस्था नभएका व्यक्तिहरु नियुक्त भएका कारणले मठमन्दिर विनास हुनुको साथै मन्दिर लोप भएको जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रको तर्क छ । उनले भोजराज प्रतिवेदनलाई सम्बन्धित निकायले तत्काल अक्षरसः कार्यान्वयनमा ल्याए अस्तित्व नै समाप्त भएका मन्दिरहरु उजागर हुनसक्ने बताए ।