मिथिलांचलमा हुने झुलनोत्सव जानकी मन्दिरसहित दर्जनौं मठमन्दिरहरुमा सुरु

जनकपुर समाचारदाता

सांस्कृतिक परम्पराअनुसार जनकपुरस्थित मठमन्दिरमा झुला महोत्सव सुरु भएको छ । साउन शुक्ल तृतीयादेखि सुरु भएको झुला उत्सव पूर्णिमासम्म मनाउने परम्परा छ । झुलाको पहिलो दिन मणि पर्वत सम्पन्न भएको छ। जानकी मन्दिर ,राम मन्दिर सहितको मन्दिरहरुबाट भगवान राम र जानकीको डोला स्थानिय रंगभुमि मैदानमा ल्याइएको थियो । त्यहा पुजा र आरती पछि नगर परिक्रमा गरिएको थियो । त्यसपछि आज देखि १५ दिन सम्म मठमन्दिरहरुमा झुा सुरु भएको छ 

जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको बताइन्छ ।राम अवतारको ९९ रासमध्ये प्रमुख झुला जानकी मन्दिरमा कजरी गान गाएर १५ दिनसम्म साँझ ६ बजेदेखि ९ बजेसम्म बनाउने परम्परा रहेको जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले बताए ।जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा दुल्ही मन्दिर, रत्न सागर, रसिक निवास र अग्नि कुण्डमा झुला उत्सव भव्यवताका साथ मनाइन्छ ।


जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ । मन्दिरमा भजनकीर्तन गरी हरेक साँझ सीताराम र राधाकृष्णको मूर्ति राखेर झुलाउने परम्परा रहेको छ । झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सरसजावट गरी साँझ सांस्कृतिक कार्यक्रम आयोजन गरिँदै आएको छ ।मन्दिरहरूमा मूर्ति झुलाउनका लागि कलात्मक सिंहासनको निर्माण गरिएको छ । जनकपुरको ५२ कुटी (मन्दिर) बाट डोलामा सीतारामको मूर्ति राखेर रङ्गभूमि मैदान बाह्र बिघामा ल्याएर जानकी मन्दिरका महन्थद्वारा झुला सुरु गरिन्छ । झुला महोत्सको सुरुवात सन्त परम्परादेखि सुरु भएको मानिन्छ । सन्तहरू खुला चौरमा बसेर शालिग्रामलाई आशनमा राखेर झुलाउन गर्थे ।


सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ मानिने वृन्दावनबाट झुला परम्परा जनकपुर आएको बताइन्छ । जनकपुरको जानकी मन्दिर र राम मन्दिरमा झुला महोत्सव विशेष तयारीका साथ मनाइँदै आएको छ । जानकी मन्दिरमा विशेष प्रकारको तीन सिंहासन बनाएर सीतारामलाई झुलाउने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *