बारा पर्साका हुरी पिडितको घर निर्माण सकियो

अनलाईन न्युजपाटी, सिमरा समाचारदाता भदौ १७ गते।

गत चैत्र १७ गते बारा पर्सामा आएको बिनासकारी हुरीबाट पूर्णरुपमा प्रभाबित भएका घरहरुको पूनर्निमाण सकिएको छ ।हुरी प्रभाबितका लागी घर निर्माण गर्न बनाईएको जनता आवास कार्यदलको नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी बिनय बिक्रम राणाले सबै पिडितहरुको घर निर्माण करिब सम्पन्न भएको जानकारी दिएका छन्. । ‘सबै घरहरुको् ९९ प्रतिशत निर्माण सम्पन्न भएको छ’ सहायक रथी राणाले भने, ‘आज भोलीमा त्यो पनि सम्पन्न गरिसक्नेछौँ ।’उनका अनुसार दुबै जिल्लाका कुल आठ सय ६९ घरको निर्माण कार्य सकेर केही दिनमा हस्तान्तरण गर्ने तयारी कार्यदलले गरेको छ ।

यही भदौ १८ गते सबै पिडितहरुलाई औपचारिक रुपमा साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट पिडितहरुलाई घर हस्तान्तरण गरिने राणाले जानकारी दिए ।

घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २१ चैत २०७५ को बैठकले सेनालाई जिम्मेबारी दिएको थियो। त्यसको एक महिना पछि गत वैशाख २१ गते उपप्रधानमन्त्री पोखरेल र उपेन्द्र यादबसहित केन्द्र सरकारका १० मन्त्री, प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्री गरि १२ जनाले बारा र पर्साको १२ स्थानबाट एकै साथ हुरीपीडितको घर निर्माणको शिलान्यास गरेलगत्तै सेनाले काम थालेको हो । 
सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेको हो । 

सरकारले प्रती घर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ । कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घर ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले जानकारी दिए । उनका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।
हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागी बनाएका घरहरु प्राकृतीक प्रकोप प्रतिरोधी रहेको दाबी सेनाले गरेको छ । उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको कार्यदलका ईन्जिनियर सेनानी महेन्द्र सिजापती थापाले बताए ।निर्माण भएका घरहरु भुकम्प र हुरी बतास प्रतिरोधी, अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको भन्दै सेनानी थापाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताए । त्यसैगरी बन बिनास नगरी पर्यावरण जोगाउने उद्देश्यले युपीभिसीका झ्याल ढोका प्रयोग गरेर घर निर्माण गरिएको उनले बताए । ‘हामिले पर्यावरण जोगाउने उद्देश्यले युपिभिसीका झ्याल ढोका प्रयोग गयौँ ।’ थापाले भने, ‘यसले हामीलाई पनि काम गर्न केही सहज बनायो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *