अनलाईन न्युजपाटी,धनुषा ,समाचारदाता भदौ ३१ गते।
धनुषाको मिथिलाबिहारी नगरपालिका १० मा नवनिर्मित माँ दुर्गा मन्दिरको मंगलबार एक भब्य समारोहकाबीच उद्घाटन गरिएको छ ।मन्दिरको प्रांगनबाट १ सय ८ कलश सहित निसकेको कलशयात्रा स्थानीय जलाद नदीमा गई कलश भरेर नगर परिक्रमा गर्दै पुनः मन्दिरको प्रांगनमा आई सम्पन्न गरिएको थियो । नगरपालिका,स्थानीयबासी, सहयोगदाता, बिभिन्न संघसंस्था एवं समाजसेवीहरुको आर्थिक सहयोग र समन्वयमा मन्दिर निर्माण भएको हो ।मिथिलाबिहारी नगरपालिका १० का वडाअध्यक्ष ललित नारायण झाले मन्दिरको उदघाटन गरेका हुन् । माँ दुर्गा मन्दिर सञ्चालक समितिको सक्रियता एवं स्थानीयहरुको सहयोगमा करिब डेढ करोड रुपैयाँको लागतमा निर्मित मन्दिरको लागि स्थानीयबासी,बिभिन्न राजनीतिक दलका नेताहरु,जिल्ला समन्वय समिति,नगरपालिका लगायतले आर्थिक सहयोग गरेको वडाअध्यक्ष ललित नारायण झाले बताए ।उनले मन्दिर निर्माण कार्यलाई पुर्णता दिन अहिलेपनि २० लाख रुपैयाँको काम बाँकी रहेको बताए । मन्दिर निर्माण समितिका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयबासी,भद्र भलादमी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । मन्दिरको मंगलबार उद्घाटन भएसँगै आगामी असोज ८ गतेसम्म महाशिवशक्ति महायज्ञको आयोजना समेत सुरु भएको छ । असोज ८ गतेदेखि अष्टजाम,झाँकी किर्तनको आयोजना भई १२ गते घटस्थापना हुने अध्यक्ष यादवले बताए ।सप्तमी,अष्ठमी र नवमीका दिन विशेष पूजापाठको आयोजनासँगै भब्य मेला समेत लाग्ने र मेलामा बिभिन्न प्रकारका मनोरञ्जनका साधनहरु,झुला,नाचतमासा,सर्कस,मौतका कुवाँ लगायतको व्यवस्था रहने उनले जानकारी दिए ।