अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता ,असोज १८ गते ।
बडा दर्सैँको बेला सुरक्षा चुनौती रहेको भन्दै राजमार्गका बसमा प्रहरीले गस्ती बढाएको छ । रात्रिकालीन समयमा यात्रुलाई सुरक्षित साथ गन्तव्यमा र्पुयाउनका लागि प्रहरीले प्रदेशभरि राजमार्ग क्षेत्रमा गस्ती बढाएको हो । खासगरी सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गका केही भाग जंगल क्षेत्र रहेकाले प्रहरीले मोबाइल गस्तीसहित राति सार्वजनिक बसमा समेत गस्ती गर्न सुरु गरेको छ ।दसैं सुरु भएसँगै प्रहरीले राजमार्गलाई विशेष निगरानी बढाएपछि यात्रुहरू सुरक्षित तरिकाले गन्तव्यमा पुगिरहेका छन् । दुई वर्षअघि दसैंका बेला काठमाडौंबाट छुटेका एक यात्रुवाहक बसलाई हतियारधारी समूहले नियन्त्रणमा लिई जंगलभित्र लगेर लुटपाट गरेका थिए । त्यस्तो घटना नदोहोरिन प्रहरीले सार्वजनिक बसमा गस्ती बढाउँदै सजगता अपनाएको हो ।
चाडबाडका बेला राजमार्ग तथा जंगल क्षेत्रमा प्रहरीको उपस्थितिले यात्रा सुरक्षित बनेको यात्रुको भनाइ छ । यसअघि रात्रिकालीन समयमा सर्लाहीको राजमार्ग असुरक्षित बनेको थियो । चाडबाडका बेला रात्रिकालीन समयमा यात्रुहरू डर र त्रासमा यात्रा गर्न बाध्य थिए । राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति भएपछि यातायातका साधन रात्रिकालीन समयमा निर्बाधरूपमा चल्ने गरेको छ ।राजमार्ग र जंगल क्षेत्रमा चालक पनि निर्धक्क रूपमा यातायातका साधन चलाउने गरेका छन् । यसभन्दा अघिका वर्षमा राजमार्गमा प्रहरीको सक्रियता कम भएका बेला समूह बनाएर मात्र गाडी चलाउनुपरेको चालक रासनन्दन भण्डारीले बताए । चाडबाडका वेला राजमार्गमा कुनै अप्रिय घटना नघटोस् त्यसका लागि मोबाइल गस्ती र सार्वजनिक बसमा प्रहरीले गस्ती गरिरहेको सर्लाहीका सशस्त्र प्रहरी १० नम्बर गणका गणपति प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए ।
उनले सार्वजनिक बसमै चढेर गस्ती गर्न केही टोली नै बनाएर यात्रुलाई सुरक्षा प्रदान गरिरहेको जानकारी दिए । यात्रु बोकेको बसमा चढेको प्रहरीको गस्ती टोलीले राजमार्ग र जंगलक्षेत्र कटाएपछि फेरि फर्कने गरेको प्रहरीले जनाएको छ । चाडबाडमा घर हिंडेका यात्रु कुनै पनि बहानमा पीडा खेप्नु नपरोस् भनेर राजमार्गमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।