अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता असोज २५ गते।
चाडपर्वको बेला प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा तरकारीको मूल्य निकै आकासिएको छ ।करीब महिनादिनदेखि जनकपुरधाममा हरियो तरकारीको मूल्य निकै वृद्धि भएको छ । हाल जनकपुरधाम बजारमा एक सय रुपैयाँ भन्दा कम कुनैपनि तरकारीको मूल्य छैन । फुलकोभी दुई सयदेखि साढे दुई सय प्रति किलोमा विक्री भईरहेको छ । त्यसैगरी अन्य तरकारीहरु मूला एक सय, लौका ५० देखि २ सयसम्म, राइको साग एक सय, गोलभेंडा डेढ सय रुपैया प्रतिकिलो विक्री भइरहेको छ । तरकारीको मूल्य अत्यधिक वृद्धि भएका कारण चुल्हाचौकाको जोहो गर्न निकै समस्या भईरहेको स्थानीयहरुको भनाई छ ।सस्तो दरमा भारतीय बजारबाट तरकारी आयात गरिएपनि जनकपुरधाम आउदा आउदै किन बढी अत्यधिक मूल्य वृद्धि हुन्छ बारे तरकारी व्यवसायीहरुले कोल्ड स्टोरको अभावका कारण संडने र तुहिने, ठाउं ठाउंमा प्रहरीले पैसा लिने गरेकोले सबै त्यसमै थप गर्दा मूल्य वृद्धि हुने गरेको बताउंछन ।यस सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले यस बर्षको असार महिनामा आएको बाढीका कारण तरकारी खेती नष्ट भएकोले उत्पादन र उत्पादकत्वमा हरास आएकोले मूल्यबृद्धि भएको हुनसक्ने बताए ।तराई मधेशका अन्य सीमावर्ती प्रमुख बजारहरु विराटनगर, विरगंज र राजविराज भन्दा दोब्बर जनकपुरधाम बजारमा तरकारीको मूल्य रहेको छ । तर यसलाई नियन्त्रण गर्न सरोकारवाला कुनैपनि निकाय अग्रसर भएको देखिदैन ।