अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक ३ गते।
तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने छठ पर्वलाई अत्यन्तै निष्ठा पूर्वक मनाइने गरिन्छ, त्यसैले यस पर्वलाई सबैभन्दा कठोर पर्वको रुपमा पनि लिइन्छ ।छठ आउन दुई हप्ता बाँकी रहेका बेला यसको तयारी व्यापक भइरहेको छ । खास गरेर जनकपुरधाममा मनाइने छठ नेपलमै सबैभन्दा प्रशिद्ध रहेकोले यहाँ हप्तौँ अघिदेखि तयारी सुरु गरिन्छ ।अहिले जनकपुरधामको घाटहरुलाई सिंगारिने काम भइरहेको छ । यहाँ रहेको विभिन्न पोखरीहरुमा सजावटको काम सुरु भएको छ । जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरी लगायतका पोखरीहरुमा छठ मनाउने गरेकोले यस पोखरीहरुमा अहिले सरसजावटको काम भइरहेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरु पूर्ण रुपले घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरु बनाइने गरिन्छ ।यस पछिका सबै सामग्री संकलनमा यही शुद्धता नै यसको मूलमा बसेको हुन्छ । यो पर्व सोखले वा रहरले गर्ने पर्व होइन । यसका पत्येक सामग्री बडो जतनले केटाकेटीको पहुंच बाहिर राखिनुको अर्थ पनि यही हो ।त्यस्तै यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको भिड लागेको छ । जनकपुरधामको बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ । छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने गरेकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी , नाङ्लो, कन्सुपति लगायतको सामान किन्नमा व्यस्त छन् ।अहिले बाँसबाट बनेको सामग्रीको बिक्रीमा बढोत्तरी भएपनि पहिलेको तुलनामा अहिले यसमा कमी आएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का महेश मल्लिकले बताए । ४५ वर्षका उनी आफ्नो पुर्खाले गर्दै आएको व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।उनका अनुसार पहिलेको तुलनामा अहिले बाँसबाट बनेको सामग्रीको बिक्री वितरणमा कमी आएको छ । उनले भने, ‘पहिले पहिले बाँसबाट बनेको छिठी, नाँगलो, कन्सुपति लगायतका सामाग्रीहरु मात्र प्रयोग हुने गथ्र्यो तर अहिले पितलबाट बनेको सामग्रीहरु प्रयोग हुन थालेपछि हाम्रो व्यवसायमा ह्रास आएको छ ।’ यस वर्ष छठ पर्व कार्तिक १६ गते मनाइदै छ ।