मिटर बिगारेर कम तेल दिने सिरहाको पेट्रोल पम्पमा शिलबन्दी

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,कार्तिक ७ गते।

सिरहामा पेट्रोल पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तोकिएभन्दा कम तौलको पेट्रोल र डिजेल बेच्ने एक पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर चोकमा संचालित महतो फ्युल सेन्टरमा बुधबार जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाई तथा नापतौल तथा गुणस्तर कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

जिल्लाका विभिन्न ठाउँमा संचालित पेट्रोलपम्पको अनुगमन गर्ने क्रममा लक्ष्मीपुर चोकस्थित महतो फ्युल सेन्टरले पम्पको एडजस्टर र डिस्प्ले बिगारेर तौलभन्दा कम पेट्रोल र डिजेल बिक्री वितरण गरेको पाइएपछि तत्काल बिक्री वितरण समेत गर्न नपाउने गरी शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए ।

महतो फ्युल सेन्टरबाट पेट्रोल दिइने पम्पको एडजस्टर बिगारेर पाँच लिटर पेट्रोलमा एकसय मिलिलिटर र डिजेल पम्पको डिस्प्ले बिगारेर पाँच लिटर डिजेलमा एक सय ४० मिलिलिटर कम बिक्री गरी उपभोक्ता ठगिरहेका थिए । सिरहाका विभिन्न पम्पहरुबारे गुनासो बढेपछि अनुमनमा सम्बन्धित निकायले सक्रियता देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *