अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक ९ गते।
धनुषा सहित प्रदेश २ का विभिन्न जिल्लामा आज पेट्रोल पम्प ठप्प भएको छ । जनकपुरको मुजेलियास्थित पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या विरोधमा पेट्रोलीयम डिलर्स एशोसिएसनको आह्वानमा व्यवसायहीहरुले आज पेट्रोल पम्प बन्द गरेका छन् । पेट्रोल पम्प बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । उपभोक्ताहरु तोकेको मूल्य भन्दा बढी तिरेर बोतलमा राखेर बेच्दै गरेको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एशोसिएसनले धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।
तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहने एशोसिएसनले जनाएको छ । एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ । बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो । निर्माण व्यवसायी पंकज चौधरीमाथि बाँकी रहेको रुपैँया माग्न जाँदा सपहीस्थित न्यू शिव आयल स्टोर्सका संचालक मनोज साहमाथि उनेले गोली प्रहार गरी हत्या गरेका थिए ।