अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक २३ गते।
नेपालका केही भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा जनकपुरधाममा पनि प्रदर्शन गरिएको छ ।अनेरास्ववियु जिल्ला कार्य समिति धनुषाको आयोजनामा जनकपुरधाममा प्रदर्शन गरिएको हो । ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको कालो ब्यानरसहित अनेरास्ववियुका विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए ।रैलीमा सहभागीहरुले बजार परिक्रमापछि जनकचोकमा आयोजित कोणसभामा विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावादको नारा समेत लगाएका थिए ।विरोधमा उत्रिएका विद्यार्थीहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् । विरोध कार्यक्रममा अनेरास्ववियुका बिद्यार्थीहरुले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन समेत आग्रह गरेका थिए ।