नेपालको पहिलो जनकपुर -जयनगर ब्रोडगेज रेलसेवा सञ्चालन कात्तिकबाट

अनलाईन न्युजपट्टी साउन २३, काठमाडौँ समाचारदाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बहुप्रतीक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताउनुभएको छ । उहाँले कात्तिक महिनाभित्रमा नै सो रेलसेवा सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएको जानकारीसमेत दिनुभयो । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ । 
जनकपुर–जयनगर रेलमार्गको निरीक्षणका क्रममा उहाँले जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने बताउनुभयो । मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको मङ्गलबार निरीक्षण गर्नुभयो। गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पु¥याएको थियो । मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ । यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’मात्र रहेको थियो । दुई फिट छ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ ।जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेसन र छ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले जनाएको छ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ ।राजधानी काठमाडौँबाट समुद्रसम्म बन्दरगाह पहुँच रहेको कोलकाताबीच रेलसेवा सञ्चालनसँगै यातायात दूरीमा कमी आउने भएको छ । 
भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास आइपुग्ने रेलसेवाले कोलकाता बन्दरगाहबाट काठमाडौँ आउने मौजुदा दूरी घटाउने भएको हो । अहिले कोलकाताबाट मालसामान वीरगञ्ज हुँदै काठमाडौँ आउँदै छ भने रेलसेवापछि बर्दिबास हुँदै काठमाडौँसम्म आउँदा मौजुदा दूरी १३० किलोमिटर घट्नेछ । 
तत्कालीन ब्रिटिस इन्डियाले नेपालको जङ्गलबाट काठ ओसार्नका लागि विसं १९९४ मा भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । काठ ओसार्नका लागि सञ्चालनमा ल्याइएको सो रेलसेवाले २०१८ सालदेखि यात्रुवाहक सेवा दिन थालेको हो । कोइला र पानीबाट सञ्चालन हुँदै आएको सो रेलसेवा २०५१ सालमा भारतले सहयोग स्वरूप उपलब्ध गराएपछि डिजेल इन्जिनका रूपमा सञ्चालनमा आएको थियो । जयनगरदेखि बिजुलपुरासम्मको दूरी ५२ किलोमिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *