जनकपुरधाममा एडीबी परियोजनाको दुईनम्बरी कामको पर्दाफाष, पुरा नहुँदै भत्किन थाल्यो सडकपेटी

जनकपुरधाम अनलाईन न्युजपाटी,साउन २४

जनकपुरको सडक निर्माण सम्पन्न नहुँदै सडकपेटी भत्किन थालेको छ। एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडकपेटी भत्किन थालेको हो।

मुरलीचोक–भ्रमरपुरा चोक बीचको सडकपेटी कतै भत्किएको र कतै ब्लक उक्लिएको अवस्थामा भेटिन्छन्। मुरलीचोक–रामचोक सडकखण्डमा पनि ब्लक उक्लिन थालेको छ। जिल्ला अदालतदेखि स्वर्गद्धारहुँदै रामचोक जाने बाटोमा सडकपेटी कतै भत्केको, कतै धसेको र कतै ब्लक उक्लिएपछि सडकपेटी प्रयोगविहीन अवस्थामा पुगेको छ।

२०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडिबी र सहरी डिभिजन कार्यालयबीच भएको त्रिपक्षीय सम्झौताअनुसार सडकका साथै निर्माण भइरहेको सडकपेटी भत्किन थालेको हो। जनकपुरमा सघन सहरी विकास कार्यक्रमअन्तर्गत १६.८८ किलोमिटर र एकीकृत सहरी विकास पूर्वाधार परियोजना (आइयुडिपी) परियोजनाअन्तर्गत १२.५४ किलोमिटर सडक निर्माण कार्य भइरहेका छन्।

सहरी विकासबाट निर्माण भइरहेका अधिकांश फुटपाथ कतै भत्किन थालेका छन् भने कतै सडकपेटीमा प्रयोग हुने ब्लक उक्लिन थालेको हो। यस्तै आइयुडिपीबाट निर्माण भइरहेका फुटपाथसमेत ठाउँठाउँमा भत्किन थालेको छ। जेडआइइसी शर्मा जेभी र रमण कन्स्ट्रक्सनले ठेक्का लिएको निर्माण कार्यमा कमसल निर्माण सामग्रीको प्रयोग र ठेकेदारको लापरबाहीले निर्माण कार्य नसकिँदै भत्किन थालेको स्थानीय बताउँछन्।

‘पैसा बचाउन ठेकेदारले जसोतसो काम सक्न खोजेको छ, उसलाई गुणस्तरको के मतलब? “स्थानीय दिलिप साहले भने, ‘ठेकेदारको त बदमासी छँदैछ, अनुगमनकर्ता र सरोकारवाला निकायले समेत बेवास्त गरेर बसेका छन्।’

निर्माण कार्यमा कमसल सामग्रीको प्रयोग र आवश्यक उपकरणको प्रयोगबिना काम भइरहेकाले सडकको फुटपाथ भत्किन थालेको सहरी विकास कार्यालयले स्वीकार गरेको छ। ‘ठेकेदारले आवश्यक जनशक्ति र उपकरणको प्रयोग नगरेकाले यस्तो समस्या आएको हो,’ साइट इन्जिनियर श्रवण यादवले भने, ‘वर्षाले पनि समस्या आएको हो। गुणस्तरहीन कार्य गरेपछि हामीले पटक–पटक पत्र लेखिसकेका छौं।’ एक वर्षभित्र निर्माण कार्यमा कुनै त्रुटि फेला परेमा ठेकेदारलाई पुनः निर्माण गर्न लगाइने उनको भनाइ छ।

एडिबीको २ अर्ब बढी ऋण सहयोगमा सडक निर्माण कार्य भइरहेको छ। जसमध्ये ८३ करोड ५१ लाखमा सघन सहरी विकासले जनकपुरभित्रको सडक निर्माण गरिरहेको छ। आइयुडिपीले भेरिएसन बढाएर १ अर्ब २३ करोड ५० लाखमा परिक्रमा सडक निर्माण गरिरहेको छ।

आइयुडिपीले ३५ हजार वर्गमिटर फुटपाथ निर्माण गरिरहेको छ। तर ठाउँठाउँमा जग्गाधनीले फुटपाथ निर्माणमा अवरोध गरेपछि करिब ४ सय मिटर फुटपाथ निर्माण हुन नसकेको आइयुडिपीका प्रमुख इन्जिनियर शत्रुधनप्रसाद चौधरीले बताए। गुणस्तरहीन निर्माण कार्य भइरहेको प्रश्नमा उनले फुटपाथ भत्केको वा उक्लेको ठाउँमा पुनः निर्माण गरी सुधार गरिने बताए। ठेकेदारले लापरबाही गर्दै गुणस्तरहीन काम गरेको पाएपछि करिब ९ पटक पत्र लेखिसकेको प्रमुख चौधरीले बताए।

पछिल्लोपटक जनकपुरमै २.२७२ किलोमिटर सडक बनाउन एडिबीले थप करिब साढे ६ करोड रुपैयाँ उपलब्ध गराएको र म्यादसमेत थपिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *