अनलाईन न्युजपाटी, बिराटनगर समाचारदाता , भदौ २ ।
वैदेशिक रोजगारीका लागि दुवई पठाइदिने भन्दै ७ जनाबाट लाखौं रुपैयाँ उठाएर एक व्यक्ति फरार भएका छन् ।
सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह तीन महिनादेखि फरार हुन् । आकर्षक कमाईको लोभ देखाएर सात युवामाथि प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ असुलेर साह फरार भएको पिडितहरुले बताएका छन् ।सात जनाबाट ११ लाख ९० हजार उठाएर साह तीन महिनादेखि सम्पर्क विहिन छन् । साहले सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डलबाट पैसा उठाएका थिए ।
साहले रकम असुलेको बारेमा पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले सबै युवा १९ देखि ३५ वर्षबीचका रहेको जाकनारी दिए । कार्यालयले साहका नाममा पक्राउ पुर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको बताए । सञ्जेलले आर्थिक अवस्था कमजोर भएका युवा विदेश जान खोजेको र उनीहरुबाट त्यही मौकामा रकम उठाएर ती ब्यक्ती फरार भएको पुष्टि हुने जनाए ।सबै प्रमाणका आधारमा ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उनको भनाइ छ । वैदेशिक रोजगारीका लागि दुवई पठाउने भनेर गत वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलसम्म पुर्याए
पछि आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा खुलाइएको छ । कामदारका रुपमा लैजाने भने पनि पर्यटक भिषामा पठाउन लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका गन्नु मण्डल सरवरियाले बताए । उनका अनुसार पर्यटक भिषा भएका व्यक्तिले कामदारका रुपमा जान नपाउने भन्दै विमानस्थलबाट पर्काईएको हो ।
त्यही दिनदेखि साह सम्पर्क बिहिन बनेको पीडित सञ्जय मण्डलले बताए । ‘काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पुर्याउने भनिएको थियो, उनले भने, नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग गत चैतबाट पैसा उठाएका हुन् ।’ मण्डलले सबैको राहदानी लिएर साह सम्पर्क विहीन बनेको बताए । यता युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरु विरुद्ध हालेका छन् । विभिन्न धाक धम्की दिएको भन्दै विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिनु पर्ने माग गर्दै उनले मुद्दा दायर गरेका हुन् । सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको पिडित युवाहरुले बताए ।