बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किए

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, भदौ १०  गते ।

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादव नगरपालिकाको गाडी लिएर तीर्थाटनमा निस्किएका छन् ।नगरपालिकाको स्वामित्वमा रहेको ना १ झ १६६२ नम्बरको सरकारी गाडी लिएर यादब आइतबार भारतको बाबाधामतर्फ लागेका हुन् ।गत स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट विजयी यादवले आफूसँगै केही कार्यकर्तालाई समेत लिएर गएका छन् । उनको साथमा परिवारका सदस्य भने नभएको बताइएको छ ।कार्यालयको कामबाहेकमा सरकारी सवारी प्रयोग गर्न नपाइने नियम छ । मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई मात्र सवारी सुविधा उपलब्ध गराउँदै आइरहेको महागढीमाई नगरपालिका स्वयंले पनि निजी काममा नगरपालिकाको सवारी प्रयोग गर्न नपाइने थिति बसाएको छ ।विजय यादव नामका एक फेसबुक प्रयोगकर्ताले पनि आफ्नो फेसबुक पेजमा गाडी दुरुपयोगको तस्वीर र भिडियो पोस्ट गरेका छन् । जसमा प्रतिक्रिया जनाउने अधिकांशले मेयरको रवैयाबारे आलोचना गरेका छन् ।मेयर यादव तीर्थाटनकै क्रममा रहेकाले यसबारे प्रतिक्रिया लिने हाम्रो प्रयास भने सफल हुन सकेन ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले सुरुमा मेयर यादव सरकारी गाडी लिएर तीर्थाटनमा निस्किएकोबारे अनभिज्ञता व्यक्त गरे । ‘सरकारी गाडी निजी काममा प्रयोग नगरौं, यसो गर्न मिल्दैन भनेर हामीले बारबार सम्झाइरहेका हुन्छौं’, प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘तर, हाम्रा कुरा नमानेर उहाँहरू अटेरी गर्नुहुन्छ । म बिदामा बसेको समयमा यसपटक पनि मेयर सा’ब गाडी लिएर भारतको बाबाधाम जानुभएछ ।’सरकारी गाडी लिएर मेयर तीर्थयात्रामा जानु गलत भएकाले आफूले आएलगत्तै सम्झाउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *