अनलाईन न्युजपाटी,सर्लाही ,समाचारदाता, भदौ १० गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाको एक विद्यालयको अभिभावक भेलामा झडप भएको छ । हरिपूर्वाको केश्वर गरिब जनता माविमा सोमबार दिउँसो आह्वान गरिएको अभिभावक भेलामा झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।झडपमा गम्भीर घाइते हुनेमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव, र अध्यक्ष ३१ वर्षीय खगेन्द्रप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।टाउकोमा चोट लागेर गम्भीर भएका दुवैजनालाई उपचारका लागि जनकपुर अन्चल अस्पतालमा पुर्याइएको छ । गत शुक्रबार राति सिभिल ईन्जिनियरिङ विषयका तीनजना शिक्षकको परीक्षा लिएर नतिजा समेत प्रकाशन गरिएपछि असन्तुष्ट समूह र प्रधानाध्यापक फेकु राय पक्षबीच झडप भएको एक स्थानीयले जानकारी दिए ।त्यस्तै सुन्दरपुर मावि चक्रघट्टाबाट सरुवा भई आएका शिक्षक धनेश्वर साहलाई विद्यालयमा हाजिर गराउने विषयमा समेत अभिभावक भेलामा विवाद भएको बताइएको छ । भेलामा छलफल सुरु हुने बित्तिकै विवाद बढेको र कुटाकुट हुँदा दुईजना घाइते भएको बताइएको छ ।प्रअ रायको सरुवा हुनुपर्छ भन्ने पक्ष र अर्को पक्षबीच झडप भएको स्थानीय बासिन्दाले बताएका छन् । समाजवादी पार्टीका नेता कार्यकर्ता एक पक्ष र नेपाल कम्युनिष्ट पार्टी एवं राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता विपक्षमा रहेको एक स्थानीयले बताए ।