बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना

अनलाईन न्युजपाटी, रौतहट,समाचारदाता, भदौ ११  गते ।

बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२  धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई आफनो घरमा थुनेर कुटपिट गरि उक्त कार्वाही गरेको बालकका अभिभावकले जानकारी दिएका छन्  ।पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा  पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए । 
तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए । गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन् । घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।पत्रकार सम्मेलनपश्चात उक्त घटनाबारे  उजुरी दर्ता गर्नका लागि  जिल्ला प्रहरी कार्यालय कलैयामा गाँउलेहरुसँग जाँदा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले आफुहरुलाई उल्टै दुब्र्यवहार गरेको पूर्व सहायकमन्त्री कलावती पासवानले आरोप लगाइन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख रञ्जितसिंह राठौरले घटनापछि पीडितहरु ढिलो आएपनि लिखित जाहेरी लिएर आएमा कार्वाही प्रकृया बढाइने बताए ।प्रहरी निरिक्षक चन्द्रकिशोर साहको व्यवहारको सन्दर्भमा आफुले छानबिन गर्नेसमेत निमित प्रमुख राठौरले प्रतिबद्धता जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले बालबालिकाको बिषयमा नेपाल प्रहरी एकदमै सजग रहने बताउँदै कलैयाको घटनाबारे छानबिन गरी कार्वाही प्रकृया अगाडी बढाउन बारा प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *