सोमबार साँझ बाँकेको कोहलपुरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि गोली प्रहार गरेको आरोप

अनलाईन न्युजपाटी,काठमाडौँ , समाचारदाता भदौ १७ गते।

सोमबार साँझ बाँकेको कोहलपुरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेपछि गोली प्रहार गरेको आरोप लागेको छ । ८ वर्षअघि डाँका चोरी मुद्दामा ६ वर्ष कैद र २७ हजार जरिवाना तोकिएका बर्दिया बेलुवाका नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिएपछि प्रहरीले गोली प्रहार गरेको आरोप लागेको हो ।बर्दियाको देउराली जंगलस्थित सडकखण्डमा हतियार देखाएर न्यौपानेलगायत तीन जनाले संयुक्त राष्ट्रसंघको गाडीलाई लुटपाट गरेका थिए । डाँका चोरी गरेको मुद्दामा जिल्ला अदालत बर्दियाले २०६८ साल पुस २१ गते कैद र जरिवानाको फैसाला गरेको थियो ।कैद र जरिवाना सजाय पाएका न्यौपाने, डिल्ली वली, मंगल शाही फरार थिए ।मोटरसाइकलमा राखेर इलाका प्रहरी कार्यालय कोहलपुर लग्दै गर्दा नेपालगञ्ज–२० राँझा नजिकै मोटरसाइकलबाट हाम फालेर न्यौपाने भागेको भन्दै प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको बताइएको छ ।न्यौपानेको बायाँ खुट्टाको पिडुलामा १ राउण्ड गोली लागेको छ ।बुलेट बाइकमा प्रहरीले न्यौपानेलाई बीचमा राखेर हतकडी नलगाइ ल्याएको पाइएको छ ।बाइक चलाउनेमा इलाका प्रहरी कार्यालय बाँसगढी, बर्दिया दरबन्दी भएका प्रहरी सहायक निरीक्षक नरेन्द्र शाही थिए ।यस्तै बाइकको सबैभन्दा पछाडी बस्ने गुल्मी दरबन्दी भएका हवल्दार टेकबहादुर पुन थिए ।न्यौपानेलाई उनीहरुले मोटरसाइकलको बीचमा राखेर ल्याएका थिए ।तर, प्रत्यक्षदर्शीका अनुसार सई नरेन्द्र शाहीले न्यौपानेलाई बाइकबाट झर्न आग्रह गरेको र झर्नलाई खुट्टा उचालेको बेला भाग्न लागेको भन्दै बाइकको पछाडी बसेका हवल्दार पुनले गोली चलाएका हुन् ।न्यौपानेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *