अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता भदौ २३ गते।
काठमाडौँको बौद्धमा एक घरमा लुटपाट गर्ने योजना बनाउँदै गरेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्धको एक घरमा ठूलोमात्रामा नगद तथा गरगहना रहेको सूचनाका आधारमा लुटपाटको योजना बनाइरहेको अवस्थामा शनिबार साँझ आठ जनालाई काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो ।
पक्राउपर्नेमा गोरखा अजिरकोटका कुशल अधिकारी, नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ र पिटर तामाङ गुल्मी इस्माका युवराज भण्डारी, रसुवा छोदिङ्मोका योर्साङ घले, धादिङ खनिबादका विजय तामाङ र नुवाकोट तारकेश्वरका राजन तामाङ पक्राउ परेका छन् । पक्राउ परेकासँग प्रहरीले दुई थान चाइनिज पेस्तोल, सोको म्यागजिन दुई थान, सोको गाली चार राउण्ड, नक्कली सुन एक किलोग्राम, फलाम काट्ने औजार एक थान, लुटिएको पर्स, एटिएम कार्ड र मोबाइल दुई थान, मोटरसाइकल चार थान र पक्राउ परेकाले बोक्ने मोबाइल नौ थान बरामद गरेको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँ महानगरपालिका–१६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्सबारमा लुटपाटको योजना बुन्दाबुन्दै पक्राउ गरिएको जानकारी दिएको हो ।