अनलाईन न्युजपाटी,कैलाली ,समाचारदाता भदौ २९ गते।
उपहारको प्रलोभन देखाएर कुपनमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकको एउटा समूहलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा उत्तरप्रदेशको बहराइच पचागपुर तहसिलका २५ वर्षीय शैलेश त्रिपाठी, २९ वर्षीय निरञ्जन सिंह, २४ वर्षीय नरपती सिंह, २३ वर्षीय आशिष सिंह, ३० वर्षीय विन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार सिंह छन् । उनीहरुलाई कैलाली सदरमुकाम धनगढीबाट ४३ हजार रुपैयाँ नगद, स्क्रयाच नगरिएका कुपन ७१०, स्क्रयाच गरिएका ४ र ३ वटा मोबाइलसहित पक्राउ गरिएको हो ।कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार यो समूहले १० दिनदेखि धनगढी बजार क्षेत्रमा उपहारको प्रलोभन देखाएर सय रुपैयाँको कुपन किन्न लगाएर सर्वसाधारणलाई ठगी गर्दै आएको थियो ।सय रुपैयाँको कुपन किन्ने हरेक व्यक्तिलाई उपहार पर्ने र केही उपहार नपर्ने व्यक्तिलाई दुई सय रुपैयाँ दिने उनीहरुले बताउने गरेका थिए । उपहार नपरे पनि दुई सय रुपैयाँ पाइने लोभले सर्वसाधारणले उनीहरुको कुपन खरिद गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।कुपन खरिद गर्दा उपहारमा ५१ इञ्चको एलसीडी टीभी, ल्यापटप, मोबाइल, स्वीच मेसिन, ग्यास चुल्हो पर्ने प्रलोभन दिँदै आएका थिए । तर, उपहार परेका व्यक्तिले चार हजार पाँच सय रुपैयाँ दिनुपर्ने उनीहरुको नियम थियो । त्यति रकम तिरेपछि एक महिनाभित्र उपहार उपलब्ध गराउने बताएर उनीहरुले सर्वसाधारणबाट पैसा उठाइरहेको एसपी गिरीले बताए ।कुपन बेचेर मोटो रकम संकलन गरी उनीहरुले भारततिर भाग्ने योजना बनाएको प्रहरीले जनाएको छ ।