मोबाइल चोरी गर्ने तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरे

अनलाईन न्युजपाटी,सिरहा  ,समाचारदाता भदौ ३०   गते।

शृंखलाबद्ध चोरी तथा लुटपाट मच्चाउने गिरोहलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका-४ स्थित राजु इन्टरप्राइजेजबाट मोबाइल चोरी गर्ने तीन जनालाई  सिरहा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका-३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडाका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतो छन्।भदौ २२ गते सो मोबाइल पसलको सटरमाथि रहेको भेन्टिलेसन फुटाएर २ लाख १५ हजार नगद, ३ लाख ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, विभिन्न कम्पनीका ८ लाख ९६ हजार ८ सय रुपैयाँ मूल्य बराबरका ४४ थान मोबाइल चोरी भएको थियो।घटनापछि चोरीमा संलग्नको खोजीमा रहेको प्रहरीले ६ दिनमै तीन जनासहित चोरिएका मोबाइल बरामद गरेको सिरहा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। चोरीमा संलग्न मुख्य आरोपी रामेश्वर साफीको लालपुरस्थित घरबाट विभिन्न कम्पनीका २४ थान मोबाइल, १ लाख ३५ हजार ५ सय नगद र चोरीमा प्रयोग गरिएका औजार बरामद भएका छन्। यस्तै, पक्राउ परेका विन्दुकुमार महको साथबाट विष्णुपुर गाउँपालिका १ मा सञ्चालन गरेको मोबाइल पसलबाट चार थान मोबाइल र ६५ हजार ८ सय ६५ रुपैयाँ बराबरको रिचार्ज कार्ड तथा १४ हजार १ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्का अरुण कुमार महतोले सञ्चालन गरेको मोबाइल पसलबाट ३ हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको एसपी चतुर्वेदीले बताए।पक्राउ परेकामाथि चोरी तथा डकैती मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *