संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने थरुहटले

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता असोज ३ गते।

सरकारले घर–घरमा दिपावली गरेर संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय गरेको बेला संविधानप्रति असन्तुष्ट थरुहट थारुवान राष्ट्रिय मोर्चाले भने संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने भएको छ । 
असोज ३ कालो दिन भन्दै मोर्चाले काठमाण्डौंसहित थारु बाहुल्य सबै जिल्लामा संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी जनाएको छ । मोर्चाले “थरुहट थारुवान विरोधीहरुको पुत्ला पोल–पोलमा, संविधान दिवसको विरोध गरौं टोल टोलमा” भन्ने नारासमेत बनाएको छ । मुलुकमा विभेदकारी संविधान जारी गरेर आदिवासी जनजाती, थारु, मुस्लिम, दलित लगायत पिछडिएका समुदायप्रति ठूलो विभेद र घात गरिएकाले संविधान दिवसलाई कालो दिनको रुपमा मनाइने मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए । उनले विभेदकारी संविधान जारी भएको चार वर्ष बिते पनि बहिस्कृत, सीमान्तकृत समुदायको पक्षमा कुनै पनि सुधार नभएको उल्लेख गरेका छन् । सरकारले थारु समुदायसंग विभिन्न समयमा गरेको सम्झौता कार्यान्वयन नगरेको, अधिकारको लागि आन्दोलन गर्दा उल्टै झूठा मुद्दा लगाएर जेल कोचेको र टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाए । अधिकार सम्बोधन नभएको भन्दै थारु समुदायले आन्दोलन गर्दै आएको छ । मोर्चाले थारु लगायत बहिस्कृत, सीमान्तकृत समुदायको अधिकार संविधानमा सम्बोधन नभएको जिकिर गरेको छ । बरु, संविधान कार्यान्वयनको नाममा उल्टै जनविरोधी ऐन, कानून बनाएर थारु लगायत बहिस्कृत समुदायक भावनालाई उपेक्षा गरेको मोर्चाद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । 
मोर्चाले दिपावली नगर्न र राज्यको तर्फबाट आयोजना गरिने कार्यक्रमहरुमा आदिवासी जनजाती, मधेसी, मुस्लिम, दलितलाई झाँकी, नृत्य प्रदर्शन नगर्न आह्वान गरेको छ । संविधान दिवसको विरोध गर्दै मोर्चाले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । असोज ३ गते संघ, प्रदेश र स्थानीय तहमा आ–आफ्नो पहिचानसहितको ब्यानरसहित जुलुस–विरोध प्रदर्शन गर्ने, सोही दिन साँझ ७ देखि ७:३० बजेसम्म ब्ल्याक आउट गर्ने जनाएको छ । संविधान दिवससंग सम्बन्धित विदेशस्थित नेपाली दुतावास तथा जिल्लाहरुमा आयोजना हुने कार्यक्रममा सहभागी नहुने मोर्चाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *