दिनमा ४ पटक सवारी जाँच

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज ९  गते ।  

चाडपर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकी–नागढुंगा सडकखण्डमा ओभर टेक गर्न नपाउने व्यवस्था गरेको छ । महाशाखाले उपत्यका बाहिरिने नाका तथा अन्य स्थानमा सवारीसाधनमा मापसेसहित दिनको चार पटक चेकिङ गर्न लागेको हो । ट्राफिक सुरक्षा चुस्त बनाउन बिहान, दिउँसो, बेलुका र राति गरी चार पटक जाँच गर्ने योजना बनाएको छ ।नाका, व्यापारिक तथा बसपार्क क्षेत्रमा महाशाखाले थप जनशक्ति परिचालन गरेको छ । सामान्य रूपमा ३ सय ६८ स्थानमा ७ सय ५० जनशक्ति परिचालन गरिए पनि चाडपर्वलाई लक्षित गरी थप चार सय ३० ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । उपत्यकाका व्यापारिक क्षेत्रमा सवारीसाधनको चापबाट हुने समस्यालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीको उपस्थिति बढाएसँगै डाइभर्सनको समेत व्यवस्था गरेको छ । लामो दूरीमा हुने दुर्घटना न्यूनीकरण गर्न महाशाले ट्राफिक कम्युनिकेसन एप्समार्फत् उक्त दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक भए/नभएको समेत जाँच गर्ने बताएको छ ।टिकट काउन्टरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरीसमेत परिचालन गरेको बताइएको छ । प्रत्येक सवारीसाधनभित्र यात्रुले देखिने गरी सवारी चालकले अनिवार्य रूपमा भाडा दर रेट टाँस्नुपर्ने छ । ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा मालसामान राख्ने, तीव्र गतिमा चलाउने, हेल्मेटको प्रयोग नगर्नेलाई पनि कारबाहीको व्यवस्था गरेको छ ।नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सार्वजनिक यात्रुवाहक सवारीसाधनको यान्त्रिक परीक्षण गर्न प्राविधिक टोली खटाइएको महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले बताए । महाशाखाले सडकखण्डमा सवारीसाधन बिग्रेर हुने जामलाई हटाउन र्‍याकरको समेत व्यवस्था गरेको छ । त्यस्तै छठ पर्वमा विगतदेखि गुह्येश्वरी, कमलपोखरी, वाग्मती किनारा क्षेत्रमा सवारीसाधन डाइभर्सन गरी पार्किङको समेत व्यवस्था मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *