अनलाईन न्युजपाटी,बुटवल ,समाचारदाता असोज २७ गते।
जंगलमा बाख्रा चराउन गएकी महिलाको हत्या गरी गहना लुटेको आरोपमा पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय, बुटवलले सोमबार सार्बजनिक गरेको छ ।पक्राउ पर्नेमा मकवानपूर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ६ घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं ३ ज्योतिनगर बस्ने ४२ बर्षीय राम लामा रहेका छन् ।यही असोज १७ गते दिउसो बुटवल उपमहानगरपालिका वडा नं ३ र ४ मा पर्ने लक्ष्मीनगर सामुदायिक जंगलमा बाख्रा चराउन गएकी बुटवल वडा नं ३ बस्ने ६६ बर्षीय टिकीसरी गुरुङलाई धारीलो हंसिया प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका लामालाई कर्तब्य ज्यान र डाका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।बाख्रा चराउन गएकी गुरुङ राती सम्म पनि घर नफर्किएको र बाख्रा मात्रै फर्किएपछि खोजतलास गर्ने क्रममा बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा मृतकको सव फेला परेको थियो ।नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।