५ किलो सुनसहित पक्राउ परेका तोप्चेनलाई सदरमुकाम ल्याइयो

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता असोज २९ गते।

जिल्‍लाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सदरमुकाम खाँदबारी ल्याइपुर्‍याएको संखुवासभाका प्रहरी नीरिक्षक सन्तोश राईले जानकारी दिए। भोटेलाई प्रहरीले भोटखोला गाउँपालिका–२ लिङगमबाट सोमबार पक्राउ गरेको थियो। खाँदबारी नगरपालिका–१ बस्ने तोप्चेनलाई ५ किलो सुन सहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रा समेत बरामद गरेको थियो। पक्राउ परेका भोटे र सुनको बारेमा संखुवासभा प्रहरीले आज दिउसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न बताएको छ। भोटेलाई सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा सो सुन र नगद  फेला पारेको हो। भोटेको साथबाट बरामद भएको सुन चिन, भारत वा नेपाली बजार कता लैजान लागिएको हो भन्ने खुलेको छैन। यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नु पर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो। सुन सहित पक्राउ परेका भोटेलाई गए राति सदरमुकाम ल्याइएको प्रहरीको भनाइ छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *