अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता,कार्तिक ९ गते।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र J.C.B. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।
विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारले निगरानी सुरु गरेको थियो । सोही क्रममा शुक्रबार पौडेल र बस्नेत बुटवल उपमहानगरपालिका वडा नं. २ उजिरसिंह टोलबाट घुससहित पक्राउ परेका हुन् ।J.C.B चालक बस्नेत रकम लिन मतियारको रुपमा प्रयोग भएको अख्तियारले जनाएको छ ।