अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,कार्तिक १० गते।
दुई बर्ष अगाडी २०७४ साल कार्तीकमा डोटीको केआईसिंह गाउँपालिकामा दुर्घटनामा परेको जीप अवैध रुपमा भारतीय गाडी ल्याएर विक्री गर्ने धनगढीको नेपाल अटो ट्रेडर्समा फेला परेको छ। केआईसिंह गाउँपालिकाको वडा नंम्बर ३, देउरडीमा दुर्घटनामा परेको से १ ज २६५ नम्बरको श्वशैलेरी यातायातको बोलेरो जीप उक्त अटो ट्रेडर्समा फेला परेको हो।
उक्त जीपको ईन्जिन र चेसिस नम्वर यथावत राखेर भारतबाट अवैध रुपमा भित्र्याईएको गाडीको बाँकी सामान हाल्ने तयारी गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।प्रहरीले उक्त जीप बरामद गरिसकेको छ। उक्त जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो। भारतबाट अवैध रुपमा गाडी ल्याएर धनगढीमा बिक्री गर्दै आएका भारत लखिमपुरका ४२ बर्षीय मनु अन्सारीसंगै उक्त जीप नियन्त्रणमा लिईएको हो।
प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ४ बोराडाँडीमा नेपाल अटो ट्रेडर्स सञ्चालन गर्दै आएका अन्सारीले उक्त गाडीमा भारतबाट अवैध रुपमा ल्याईएको अन्य गाडीको सामान हाल्ने तयारी गरेका थिए।धनगढीको अस्थायी प्रहरी पोष्ट चटकपुरलाई अन्सारीको अवैध धन्दा बारे सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको टोली ट्रेडर्समा पुगेको थियो।
अन्सारी भारतबाट चोरेर वा भन्सार छलेर सवारी साधन ल्याउँदै नेपाली गाडीका इन्जिन र चेसिस नम्बरमा फिट गरेर विक्री गर्ने धन्दामा सक्रिय रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सो बारेमा थप अनुसन्धान भईरहेको बताए।
प्रहरी श्रोतका अनुसार उक्त धन्दामा अन्सारीसंगै गिरोह नै सक्रिय हुने सम्भावना समेत रहेको छ।