अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता,कार्तिक २४ गते।
जिल्ला प्रहरी कार्यालय बाजुराले विप्लव कार्यकर्ताको साथबाट विष्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले बाजुराबाट १६ जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दुई किलो गन पाउडर (बारुद), २.५ लिटरको प्रेशरकुकर बम, ८ थान ईलेक्ट्रोनिक कमर्सियल डेटोनेटर, ३५ मिटर बिजुलीको तार र एक थान पलास बरामद गरेको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ ।
प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरीले बाजुराको गौमूल–३ बाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पाको गंगादेब–३ का केन्द्रीय सदस्य ओली, बाजुराको त्रिवेणी–२ का जिल्ला सदस्य डम्मरबहादुर सुनार, बाजुराकै हिमाली–१ का अम्मलाल थापा, धरमसिंह बोहरा र धर्मबहादुर थापा रहेका छन् । त्यस्तै, बाजुराकै स्वामिकार्तिक–१ की कुस्मा विक, अस्मिता विक, सुस्मिता विक पनि पक्राउ परेका छन् । बाजुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अछामको ढकारी–२ का नरेश शाही, राजेशकुमार शाही, कमला विक, डबलबहादुर नेपाली तथा अछामकै विनायक पञ्चदेवल–८ का उदय कसेरा पनि पक्राउ परेका छन् । पक्राउ परेका अन्यमा अछामको तुर्माखाद–८ का कृष्ण विक, कैलालीको घोडाघोडी–१ का धर्मराज सुनार र बझाङ–१ की सृष्टि सिंह रहेका छन् ।