अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, कार्तिक २७ गते।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा एक युवाको खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रअ गम्भिर घाइते भएकी छिन् ।बुधबार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका थिए । बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खुकुरी प्रहार गरि आक्रमण भएको र उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरी मणिपाल शिक्षण अस्पतालमा लगिएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिए ।उनका अनुसार, घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ । देब्रे हातका दुई वटा औँला समेत खुखुरी प्रहारबाट चुँडीएको शिक्षक पुनले जानकारी दिए । खुखुरी प्रहार गरेका पुन अहिले फरार रहेका छन् ।उनको खोजीकार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।तुलनात्मक रुपमा बढी अपराधिक गतिविधि हुने गरेको रुमको शान्ति सुरक्षालाई मध्यनजर गर्दै हालै मात्रै जिल्ला प्रहरी कार्यालयबाट दुई साताको लागि स्थलगत रुपमा प्रहरी टोली खटाईएको थियो ।