अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते।
भारतीय नागरिकको कर छलीका लागि नेपालीको नाममा सम्पत्ति भएको पाइएको छ । काठमाडौँ बाफल बस्ने भारतीय नागरिक केशव बङ्शलले राजस्व छलेर नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । नेपालमा सर्जिकलका सामग्रीको व्यापार गर्दै आएका बङ्शलले नेपालीको नाममा सम्पत्ति राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।राजस्व चुहावट ऐन, २०५२ बमोजिम कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड १२ लाख तथा आयकरतर्फ रु आठ करोड सात लाख गरी कूल रु ११ करोड १९ लाख ८४ हजार बिगो बराबरको राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । बङ्शलले काठमाडौँमा सञ्चालन गरेको हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सले वस्तु तथा सेवा खरीद नै नगरी झुठो तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको सो अनुसन्धानमा देखिएको हो ।छली गरेको रकमबाट उनले नेपालीको नाममा विभिन्न भौतिक सम्पत्ति जोडेको फेला परेको छ । उक्त घटनामा सहयोगी बनेका दुवै कम्पनीका सञ्चालक रामसुन्दर राय र राकेश पाण्डेयसहित ११ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा यही कात्तिक २५ गते मुद्दा दर्ता गरिएको छ । अन्य आठ जना नेपाली उनको सम्पत्ति आफ्नो नाममा राखिदिएकाले मतियारका रुपमा मुछिएका हुन् । महानिर्देशक मैनालीले भने, ‘बङ्शलले रु ११ करोड १९ लाख ८४ हजार १६४ बिगो बराबरको आर्थिक अपराध गरेको भेटियो, बिगो असुल उपर गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गर्दै मुद्दा चलाएका छौँ ।’उनले दुई वटा गाडी, एउटा घर तथा सर्जिकल सामग्री बिक्री गर्ने फम नेपालीको नाममा राखेर राजस्व छली गरेका हुन् । उहाँले यस्तो घटना विभागका लागि पहिलो भएको बताए । उनले भने, ‘आर्थिक अपराधविरुद्ध विभागले सूक्ष्म निगरानी गरिरहेको छ, यो घटना त्यसैको उपलब्धि हो, यस्ता झण्डै ६० वटा फर्म अहिले पनि अनुसन्धानको दायरामा छ ।’बङ्शलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरसमेत गरेको देखिएकाले विभागले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरिएको छ । विभागले झुठो बिल जारी गरी ११ अर्बभन्दा बढी बिगो बराबरको राजस्व चुहावट गरी आर्थिक अपराध गरेको आरोप लागेका ४३१ व्यक्तिविरुद्ध मुद्दा चलाएको छ । उनीहरुमध्ये आठ जना भन्सार कर्मचारीसमेत छन् । राजस्व अनुसन्धान विभागले उनीहरुमाथि बिगो असुल गरी दोब्बर जरिवाना र तीन वर्ष कैदको माग दाबीसहित विभिन्न मुद्दा चलाएको छ । बङ्शल जस्ता केही विदेशी नागरिक पनि राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा मुछिएका छन् ।