अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, कार्तिक २९गते।
उदयपुरको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । बालविवाहको आरोपमा पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेका हुन् । बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ गरी म्याद थप गरेर बालविवाहसम्बन्धी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा बालविवाह बढ्दै गएको बेला कटारीमा भने बालविवाह गर्नेलाई पक्राउ गरी कारवाही शुरु गरिएको पनि प्रहरी प्रमुख केसीको भनाई छ ।यसैबीच उदयपुरको त्रियुगा नगरपालिका–९ गैरुनका एक २५ वर्षीय युवालाई जिल्ला अदालत उदयपुरले किशोरी बलात्कारको आरोपमा ७ वर्ष जेल सजाय सुनाएको छ । स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ७ वर्षको जेल सजाय र पाँच हजार जरिवाना गरेको हो । अदालतले २५ वर्षीय विनोद परियारका विरुद्धमा उक्त फैसला सुनाएको हो ।बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए ।