अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक २९गते।
नगरपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार पोसार गरेको आरोपमा भन्सार कार्यालय विराटनगरका कर्मचारीले एक वडाध्यक्षलाई पक्राउ गरेका छन् ।सप्तरीको अग्निसाइर कृष्णासवरन विराटनगर गाउँपालिकाको गाडीमा अवैध कपडा ओसार–पोसार गरेको आरोपमा वडा नम्बर ४ का वडाध्यक्ष तेजनारायण यादवलाई पक्राउ गरेको हो । उनी चढेको स १ झ ५०८ नम्बरको सरकारी गाडीमा ५० हजार बढी मूल्यका सामानसहित भन्सार कार्यालयले बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।सरकारी गाडीमा भन्सार छलेर कपडा लैजान लागेको अवस्थामा कर्मचारीले चेकजाँच गर्ने क्रममा फेला पारेका हुन् । जोगवनीबाट केही कपडा, साडी तथा लत्ताकपडा लैजान लागेको थाहा पाएर कर्मचारीले गाडी भन्सारले नियन्त्रणमा लिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए ।वडाध्यक्ष यादवले भने मंसिर ४ गते हुन लागेको आफ्नो छोरीको विवाहका लागि केही कपडा लैजान लागेको बताए । छोरीको विवाह हुँदैछ, त्यसको लागि किनमेल गरेर फर्किने क्रममा कर्मचारीले नियन्त्रणमा लिएको उनको भनाई छ । गाडीमा साडी ५ थान, बेहुलाको सुटको कपडा, सिरक तथा खाद्यान्नका सामाग्री आफूले किनेको वडाध्यक्ष यादवले बताए ।