अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता, पौष १० गते।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा तिब्र गतिमा गुडिरहेको जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।मंगलबार राति १० बजेको समयमा सप्तरीको रुपनी गाउँपालिका सडकखण्डमा पर्ने बिरेन्द्र बजार नजिकै स।१०प। ८२५ नम्बरको मोटरसाइकल र ज।१च। १३८१ नम्बरको जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षीय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सीटमा सवार सोही वडाका ३२ वर्षीय प्रभास यादवको मृत्यु भएको हो । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरिक्षक उत्तम कार्कीले बताए ।जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायणसिंह अस्पतालमै राखि दुर्घटनाबारे थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।