अनलाईन न्युजपाटी,बारा,समाचारदाता, पौष १० गते।
शितलहरका कारण चिसो बढ्दै गएपछी बाराको निजगढ नगरपालिकाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिकलाई कम्बल र थर्मस बितरण गरेको छ । नगरपालिकाले निजगढ बजारमा बुधबार ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरि नगरभित्रका ६७ जना ज्येष्ठ नागरिकलाई कम्बल र थर्मस बितरण गरेको हो । चालु आर्थीक वर्षको निती तथा कार्यक्रममा नै ज्येष्ठ नागरिक सम्मानका लागि बिनियोजन गरेको बजेटबाट नगरभित्रका ९० वर्ष र सो भन्दा माथी उमेर समुहका ज्येष्ठ नागरिकलाई न्यानो बितरण गरिएको नगरप्रमुख सुरेश कुमार खनालले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खनालले बढ्दो उमेरसँगै शरिरलाई बढी स्याहार आवश्यक पर्दै जाने र सोही उमेरमा पर्याप्त स्याहार नपाएर कतिपय ज्येष्ठ नागरिकको अकालमै ज्यान जाने गरेको बताए । सोही कुरालाई दृष्टीगत गर्दै ज्येष्ठ नागरिकको उचित सम्मान र स्याहार गर्नुपर्छ भन्ने धारणाको बिकास गराउन पनि आफुहरुले यस्तो कार्यक्रम ल्याएको खनालले बताए । सम्मान कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनालले बृद्ध अवस्थामा पुगेका आमाबुबाहरुको सम्मान गर्ने संस्कार बसाल्दै गए भोलिका दिनमा सकारात्मक परिवर्तन आउन सक्ने बताइन् । ज्येष्ठ नागरिक अपहेलनाका मुद्धाहरु अन्य स्थानका तुलनामा निजगढमा ज्यादै न्यून रहेको भन्दै उनले भोलिका दिनमा यस किसिमका एउटा पनि घटना घट्न नदिने अभियानमा नगरपालिका लागेको बताईन् । साथै नगरमा कतै ज्येष्ठ नागरिक अपहेलनाका घटना भएगरेको पाइए तुरुन्तै न्यायीक समितीमा उजुरु दिन समेत उनले आग्रह गरिन् ।