अनलाईन न्युजपाटी, पर्सा ,समाचारदाता, भदौ ११ गते ।
राष्ट्रिय जनता पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी विरुद्ध प्रदर्शन गरेको छ । नगरप्रमुख सरावगीले दुई वर्षको कार्यकालमा समेत नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राजपाले बुधबार विरोध प्रदर्शन गरेको हो ।राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा बुधबार वीरगन्जको घण्टाघर छेउको लालबंगला परिसरबाट निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रमा गरि महानगरपालिका पुगेर सरावगीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारीतन्त्रका बेला शुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन् धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाएको छ ।यस्तै जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौं मुल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरि निजी कम्पनीलाइ ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको , दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमिसनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ ।